|  

पाकिस्तानसँग ड्रोन र मिसाइल हानाहान भएपछि भारतले बन्द गर्‍यो २४ विमानस्थल 

२६ बैशाख, काठमाडौं ।   भारत र पाकिस्तानले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्न थालेपछि दुवै देशले नागरिकहरूको सुरक्षामा उच्च सतर्कता अपनाएको छ ।

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबार भारतले २४ वटा विमानस्थल बन्द गरेको छ।बन्द गरिएका विमानस्थलहरू अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरू छन् । बिहीबारदेखि दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन् ।

पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात र राजस्थानका भूभागहरूमा हवाइ आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो । पाकिस्तानका रक्षामन्त्री खावाजा आसिफले बिहीबार भारतका २५ वटा ड्रोन झारेको बताएका थिए ।

पाकिस्तानी सेनाले लाहोर, रावलपिण्डी र कराँची लगायत क्षेत्रबाट ड्रोन र मिसाइल प्रयोग गरी भारतीय ड्रोन झारेको बताइएको छ।भारतले पनि एयर डिफेन्स प्रयोग गरी पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण रोकेको उल्लेख छ।पाकिस्तानले भारत नियन्त्रित कश्मिरमा ४० देखि ५० जना भारतीय सेना मारेको पनि दाबी गरेको छ।