|  

भारतको निर्देशनमा ८,००० भन्दा बढी एक्स अकाउन्ट ब्लक

२६ बैशाख, काठमाडौं ।   भारतीय सरकारले सामाजिक सञ्जाल कम्पनी एक्स (पहिलेको ट्वीटर) लाई ८,००० भन्दा बढी अकाउन्टहरू भारतमा रोक्न कार्यकारी आदेश जारी गरेको छ ।

योसँगै कम्पनीले उक्त अकाउन्टहरू भारतमा मात्र नदेखिने गरी प्रतिबन्ध लगाउने प्रकृया सुरु गरेको छ । बिहीबार एक पोस्ट राख्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार प्रतिबन्ध लगाइएका अकाउन्टहरूमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरू र चर्चित एक्स प्रयोगकर्ताहरू रहेका छन् ।

भारतीय सरकारले अकाउन्टमा प्रतिबन्ध लगाउन अनुरोध गरेपनि अधिकांश अकाउन्टहरूको कुन सामग्रीले भारतको कुन कानून उल्लंघन गरेको हो भन्नेबारे स्पष्ट प्रमाण वा विवरण भने दिइएको छैन ।

यो निर्णय कम्पनीका लागि पनि सहज नभएको तर निर्देशन गरिए अनुरूप अकाउन्टहरू बन्द गर्न आफू बाध्य भएको पनि कम्पनीले उल्लेख गरेको छ । यद्यपि, कम्पनीले कानुनी विकल्पहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।