|  

पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाको आरोप, पाकिस्तानद्वारा अस्वीकार

२६ बैशाख, काठमाडौं ।  भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले आफ्नो देशको सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ ।

एक्समा एउटा भिडियो सेयर गर्दै भारतीय सेनाका एडीजी पीआईले लेखेको छ, ‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमण गरे। पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ।’

भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको बताएको छ।बिहीबार राति करिब ११ बजे उरी सेक्टरमा भारी गोलाबारी भएको थियो र सीमा नजिकैका नागरिक क्षेत्रहरूलाई निशाना बनाइएको थियो।

मे ८ मा, जम्मू कश्मीरमा विस्फोट र विद्युत् अवरुद्ध भएको रिपोर्ट आएको केही समयपछि, बीबीसीले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफसँग कुरा गरेको थियो । यस कुराकानीमा आसिफले जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका थिए।

त्यस्तै पाकिस्तानका सञ्चार मन्त्री अतुल्लहा तरारले पनि बिहीबार भारत प्रशासित कश्मीरमा कुनै पनि आक्रमण नगरिएको जिकिर गरे । उनले भारतीय मिडियाले गलत सूचना फैलाएको दाबी गरे ।