२६ बैशाख, काठमाडौं । सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ)नागरिकता र राहदानी किर्तेमा दोषी ठहर भएका छन् ।
सुन तस्करी प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा रहेका दावालाई काभ्रे जिल्ला अदालतले दोषी ठहर गरेको हो । काभ्रे जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिने सुन तस्करीमा संलग्न चिनियाँ मुलका बेल्जियम नागरिक दावालाई दोषी ठहर गरेको हो ।
यसैगरी, चितवनका राजु गुरुङ, कर्मचारी झपेन्द्रराज खरेललाई झुठा विवरण पेश गरी दोहोरो राहदानी दिने र लिने दुवैलाई जनही १५ हजार जरिवाना र १ वर्ष १ महिना कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए । बेल्जियमको समेत नागरिकता रहेका दावाले काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङको नामबाट नागरिकता बनाएका थिए ।
तर, नागरिकताको हकमा भने राजु गुरुङ, कर्मचारीद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्याललाई जनही १५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका कर्मचारीकै मिलेमत्तोमा नमोबुद्ध–११ ठेगाना राखेर २० पुस २०७४ मा नागरिकता बनाएपछि उनले सोही वर्षको ११ माघमा सोही नागरिकता पेस गरेर राहदानीसमेत बनाएका थिए ।
दावाको नेपाली नागरिकतामा १५ वैशाख २०४१ जन्ममिति तथा बेल्जियमको राहदानीमा ३ चैत २०४० जन्ममिति उल्लेख छ ।सुन काण्डमा पक्राउ परेपछि प्रहरीले अनुसन्धानको क्रममा उनले काभ्रेबाट नागरिकता लिएको पत्ता लगाएको थियो ।