|  

विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छः काँग्रेस

२६ बैशाख, काठमाडौं । नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो । बैठकमा शिक्षा विधेयकमा सम्बन्धमा पनि छलफल भएको थियो । जसमा शिक्षा विधेयक छिटो टुंग्याउनुपर्ने र टुंग्याउने क्रममा सार्वजनिक विद्यालय, निजी विद्यालयहरु सबैलाई समेटेर टुंग्याइनुपर्नेमा जोड दिइएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले भविष्यमा निजी विद्यालय स्थापना गर्नेकुरा कायम राखिनुपर्ने बताए । निजी विद्यालय भविष्यमा नराख्ने हो भने विद्यालय तहकै लागि पनि विदेश अध्ययन गर्ने क्रम बढ्ने डर रहेको बताए । त्यो अवस्था आउन दिन नहुनेमा काँग्रेस सचेत रहेको बताए । निजी विद्यालयको शिक्षकको सेवा सुविधाका बारेमा पनि विधेयकले बोल्नुपर्ने बताए । ‘शिक्षा विधेयकको सम्बन्धमा पनि छलफल भयो । शिक्षा विधेयकलाई अब चाँडो टुंग्याउनुपर्छ । टुंग्याउँदाखेरी अब यहाँ सार्वजनिक स्कुलहरु पनि छन् । त्यो त रहने नै भयो । संस्थागत स्कुलहरु जो चाहीँ त्यसमा आवद्ध हुन चाहन्छन्, त्यो पनि रहोस् । सँगसँगै निजी स्कुलहरु पनि जुन छन्, त्यो पनि कायम हुनुपर्छ र भविष्यमा निजी स्कुल स्थापना गर्न चाहन्छन् त्यो पनि कायम हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । निजी स्कुल भविष्यमा नराख्ने कुरा गर्ने हो भने कलेजका लागि विदेशिन थालेका छन्, स्कुलको पनि विदेशिन थाल्छन् । त्यो अवस्था आउन दिनु हुँदैन । निजी स्कुलको शिक्षकको सेवा सुविधाका बारेमा पनि विधेयकले स्पष्ट बोल्नुपर्छ । त्यसमा अत्याधिक नाफामुखी नहुनेतर्फ पनि त्यसलाई सुनिश्चितता गर्ने, राज्यले रेगुलेशन गर्ने कुराहरु पनि विधेयकमा स्पष्ट आउनुपर्छ ।’

प्रवक्ता महतले निजी विद्यालय अत्याधिक नाफामुखी नहुनेतर्फ पनि सचेत रहनुपर्ने बताए ।