२६ बैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले भारत-पाकिस्तान आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन ।
दुई देशबीच चलेको श्रृंखलावद्ध आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाहरुमा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्ने उनीहरुको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाले नेपाल शान्तीको पक्षमा रहेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिनुपर्ने बताए ।
सांसद खनालले सार्वजनिक वक्तव्यमा परराष्ट्र मन्त्रालयले आतंकवादविरुद्ध लिएको अडानको स्वागत गर्दै सम्भावित युद्धको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले भारत-पाकिस्तानबीच युद्धको स्थिति उत्पन्न भएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति, र आर्थिक असरहरूका साथै ति देशहरूमा रहेका नेपालीहरूको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन सरकारसँग माग गरे । उनले भने, ‘आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ती र स्थिरताको पक्षमा नेपालको स्वभाविक चासो हुनुपर्दछ । परराष्ट्र मन्त्रालयले ढिलै भए वक्तव्यमार्फत सार्वजनिक गरेको आतंकवाद विरुद्धको अडानको स्वागत गर्दै भारत पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपुर्ति र आर्थिक श्रृंखलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीहरुमाथि पर्नसक्ने प्रभावसम्मको आँकलन गरी योजना निर्माणको माग गर्दछु ।’
नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले भारत-पाकिस्तानबीच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताए ।
नेकपा (एमाले)की सांसद सरस्वती सुब्बाले भारत-पाकिस्तानबीच चुलिँदो तनावले नेपालमा पनि तत्काल असर पार्नसक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गरे । उनले बढ्दो द्वन्द्व र अस्थिरताको प्रभाव नेपालमा प्रत्यक्ष देखिनसक्ने उल्लेख गरे । भारत-पाकिस्तानबीचको तनाव नरोकिए भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमाको सुरक्षा जोखिम, आर्थिक परनिर्भरता, आपूर्ति संकट, हवाई यातायात, पर्यटन र व्यापार समेत प्रभावित हुनसक्ने उनको भनाइ छ ।
सांसद सुब्बाले नेपालले असंलग्न परराष्ट्र नीतिको मार्गबाट नहटिकन भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक समन्वय बिस्तार जोड दिए । उनले भने, ‘भारत–पाकिस्तानको हालको तनालिे दक्षिण एसियामा व्यापक असर परिरहेको छ । जसको असर नेपालमा पनि तत्काल पर्नसक्छ । सभामुख महोदय नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भाग्नुपर्ने सम्भावित चुनौतीहरु, भूराजनीतिक दबाब, कुटनीतिक असन्तुलन, खुला सीमा सुरक्षा जोखिम, आर्थिक परनिर्भता र आपूर्तिमा संकट, हवाई यातायात, पर्यटन र व्यापारमा समेत समस्या पर्नसक्ने भएको कारण नेपालले असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक सक्रियता बढाउनुपर्छ ।’
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान आमनेसामने भएका छन । पहलगाम आक्रमणमा पाकिस्तालाई दोषी देखाएर भारतले जवाफी हमला शुरु गरेको थियो ।