२६ बैशाख, काठमाडौं । भारतले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारे जानकारी दिएको छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले पाकिस्तानले गरेको आक्रमण बारे जानकारी दिदै पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोन प्रहार गरेको बताएकी छन् ।
कुरेशीले भनिन्, 'पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो ।'
कर्नेल सोफियाले भनिन्, 'लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००-४०० ड्रोनहरूले घुसपैठ गर्ने प्रयास गरे । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोनहरूलाई खसाले । यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी सङ्कलन गर्नु थियो । ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ । प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको संकेत गर्छ ।'
उनले भनिन्- 'पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ। यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन् । भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ ।'
यद्यपि, कर्नेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिएनन् ।
यद्यपि, पाकिस्तानका रक्षामन्त्रीले भने भारतलाई गरेको आक्रमणको अस्वीकार गरेका छन् ।