२६ बैशाख, काठमाडौं । नेपाली समाज भारतले प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली समाज भारतले पाकिस्तान र भारतबिच तनावको स्थिती सिर्जना भएकाले प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
सम्भावित तनावपूर्ण परिस्थितिको पृष्ठभूमिमा, नेपाली समाज भारत, केन्द्रीय समिति सम्पूर्ण भारतभर रहेका तथा विशेषगरी सीमावर्ती क्षेत्रहरूमा बसोबास वा भ्रमणमा रहेका नेपालीहरूलाई सावधानी अपनाउन आग्रह गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘भारत सरकार, नेपाल सरकार तथा नेपाली दूतावास नयाँ दिल्लीबाट जारी हुने आधिकारिक सूचना तथा निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्नुहोला । भारत–पाकिस्तान सीमावर्ती क्षेत्रहरूतर्फ अनावश्यक यात्रा नगर्नुहोला ।’
संवेदनशील विषयमा टिप्पणी नगर्न समेत प्रवासी नेपालीहरूलाई नेपाली समाज भारतले भनेको छ । धर्म लगायतका विषयमा सामाजिक सञ्जाल वा सार्वजनिक स्थानहरूमा कुनै पनि किसिमको टिप्पणी गर्दा अत्यधिक सावधानी अपनाउन सुझाएको छ भने परिवारसँग सम्पर्कमा रहिरहन भनेको छ ।