२७ बैशाख, काठमाडौं । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपालाई धन्यवाद दिएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौंस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा जम्मु काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिए ।
यसैगरी यहाँका समग्र नागरिक समाज र विशेषगरी आमसञ्चार क्षेत्रबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे । काश्मीरको पहलगाममा एक नेपालीसहित २६ जना निर्दोष मानिसको ज्यान लिनेगरी भएको आतङ्वादी हमला र त्यसपछि विकासित घटनाक्रमका बारेमा जानकारी दिँदै राजदूत श्रीवास्तवले पहलगाम हमलामा पाकिस्तान जिम्मेवार रहेको बताए ।
पाकिस्तानको ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ)’ले गत ‘२२ अप्रिल’मा पहलगाममा २६ जना सर्वसाधरण मानिसको ज्यान लिने गरी हमला गरेको बताउँदै उनले त्यसपछि पनि जम्मु–काश्मीर क्षेत्रका सर्वसाधरण जनतासहित धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदालाई लक्षित गरी लगातार आक्रमण गरिहेको र जसरी हुन्छ दुई देशबीच द्वन्द्व चर्काउन खोजिरहेको भनी खेद व्यक्त गरे।
पहलगाम हमलापछि पनि पाकिस्तानले सीमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमणलाई तीव्रता दिइरहेको, काश्मीर क्षेत्रस्थित ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्ट ध्वस्त बनाएको र १६ जना भारतीयको मृत्यु भएको जानकारी दिँदै राजदूत श्रीवास्तवले यस किसिमको अपूरणीय क्षतिका बावजुद् भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारवाही मात्र गरेको स्पष्ट गरे ।
पाकिस्तान सरकारकातर्फबाट छिमेकी दुई देशबीचको द्वन्द्वलाई बढवा दिने गरी नियोजित रूपमा लगातार गलत र भ्रामक सूचना सम्प्रेषण भइरहेकामा खेद व्यक्त गर्दै राजदूत श्रीवास्तवले भने, “भारत द्वन्द्व चर्कियोस् भन्ने पक्षमा छैन तर देश र जनताको रक्षाको पक्षमा भने कोहीकसैसँग सम्झौता गर्ने पक्षमा छैन । यता पाकिस्तानी जनतासमेत शान्तिका पक्षमा देखिन्छन्, सम्पूर्ण विश्व समुदाय आतङ्कवादको विरुद्धमा उभिएको अवस्था छ, यसतर्फ पाकिस्तानी सरकार र त्यहाँका सेनाको ध्यान जान जरुरी छ ।”
पाकिस्तानी पक्षबाट भ्रम फैलाइएजस्तो सीमा क्षेत्रमा जारी द्वन्द्वमा भारतीय पक्षको क्षति नभएको पनि उनले जानकारी दिए । सो अवसरमा सञ्चारकर्मीको जिज्ञासामा राजदूत श्रीवास्तवले शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको जानकारी दिँदै आतङ्कवादको विरोधसहित त्यसका विरुद्ध हुने कदमप्रति प्रधानमन्त्रीबाट ऐक्यबद्धता प्रकट भएकामा खुशी व्यक्त गरे ।
अर्को एक प्रश्नको जवाफमा राजदूत श्रीवास्तवले भारतस्थित संवेदनशील क्षेत्रका केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको बताउँदै छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा भने कुनै पनि किसिमको समस्या नआउने विश्वास दिलाए ।