२७ बैशाख, काठमाडौं । पाकिस्तानतर्फबाट भएको गोलीबारीमा जम्मू कश्मीर प्रशासनका एक उच्च अधिकारीको मृत्यु भएको भारतले दाबी गरेको छ ।
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिंदै अतिरिक्त जिल्ला विकास आयुक्त (एडिशनल डिभिजनल कमिस्नर) राजकुमार थापाको मृत्यु भएको बताएका छन् ।
‘राजौरीबाट दुःखद खबर आएको छ,’ उनले लेखेका छन्, ‘हामीले जम्मु–कश्मीर प्रशासन सेवाका एक समर्पित अधिकारी गुमाएका छौं। हिजोमात्रै उनी उपमुख्यमन्त्रीसँगै जिल्लामा थिए र मेरो अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा पनि सहभागी भएका थिए।’
पाकिस्तानले राजौरी शहरलाई लक्षित गरी गरेको गोलीबारीमा थापाको घर निशानामा परेको थियो । सोही आक्रमणमा थापाको मृत्यु भएको हो ।गोलीबारीबाट अन्य क्षति भएको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । भारतीय सुरक्षाफौजले गोलीबारीको जवाफ दिएको जनाएको छ ।