२७ बैशाख, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ ।
तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो । वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४।२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा सम्झना खड्का १३ रनमा तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे । टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो ।
कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन् ।यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो । नेपाल र हङकङले १–१ अंक बाँडे ।