२७ बैशाख, काठमाडाैं । भारत-पाकिस्तानबीचको तनावको असर नेपाल-भारत सीमामा समेत देखिएको छ ।
प्रहरी प्रधान कार्यालयले नेपाल-भारत सीमामा सुरक्षा शतर्कता बढाउन निर्देशन दिएको हो । सोही निर्देशनअनुसार भारतसँग जोडिएको सीमामा सुरक्षामा सुरक्षा कडाई धनुषामा समेत बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताए । उनले सीमामा आवत जावत गर्ने यात्रुको परिचय पत्र प्रमाणीकरण गर्नुका साथै आवतजावतको प्रयोजन र सवारी साधनको समेत रेकर्ड राख्न तदारुकता देखाइएको जानकारी दिए । उनले भारत र पाकिस्तानबीच देखिएको विवादलाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालय, मधेस प्रदेश प्रहरी कार्यालयबाट भएका निर्देशनलाई कार्यान्वयन गरिरहेको बताए । सीमामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन लागिरहेको जानकारी दिए । आउने र जाने प्रयोजन रेकर्ड गरेर मात्रै आवतजावत गर्न दिने व्यवस्था मिलाइएको बताए ।