२७ बैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान निर्माणदेखि राष्ट्र निर्माणसम्मको यात्रामा पूर्व सांसदहरूको ठुलो योगदान रहेको बताएका छन् ।
पूर्व सांसद मञ्च नेपालले आयोजना गरेको ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा थुप्रै सकारात्मक काम भए पनि त्यसको पर्याप्त मूल्यांकन नभएको गुनासो गरेका हुन । उनले वर्तमानमा शासन प्रणालीप्रति प्रश्न उठिरहेका विषयमा गम्भीर बन्नु आवश्यक रहेको बताए । उनले २०४६ साल यता देशमा चार गुणा भन्दा बढी विकास भएको दाबी गर्दै व्यवस्थाको कारण अवस्थामा ठुलो परिवर्तन आएको र पूर्व सांसदहरूको भूमिका पनि उल्लेखनीय रहेको उल्लेख गरे ।
साथै सभामुख घिमिरेले नेता परिवर्तन गर्ने नभइ जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताए । उनले यथार्थ के हो भन्नेबारे नेपाली जनताहरुले हेर्ने काम कम भइरहेको बताए । उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले यथार्थलाई बुझ्ने,बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताउँदै जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको बताए । जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताए । नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताए ।
सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताए । देशमा बढिरहेको प्रणाली बिरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपालमा गणतन्त्र स्थापनासँगै जनताप्रति उत्तरदायित्वपूर्ण शासन व्यवस्था आएको बताए । चौरसियाले १० वर्षे जनयुद्ध, मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प र कोभिडजस्ता कठिन परिस्थितिबिच पनि सरकारले विकास निर्माणको गति अगाडि बढाएको बताए । यद्यपि स्थानीय तह र प्रदेशमा अनावश्यक खर्च बढेकाले जनतामा असन्तुष्टि बढेको स्वीकार गर्दै उनले सरकार जनअपेक्षाअनुसार उत्तरदायी हुनुपर्ने बताए ।
पूर्व सभामुख तारानाथ रानाभाटले चुनाव जितेर आएका जनप्रतिनिधिले जनताका लागि काम गर्न नसकेको गुनासो गरे । उनले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितमा काम गर्न आग्रह गरे । स्रोतसाधन गाउँगाउँमा पुगे पनि कार्यान्वयनको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले पूर्व सांसदहरूलाई जनशक्तिका रूपमा प्रयोग गर्न सुझाव दिए ।