|  

राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

२७ बैशाख, काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन् । 

आज सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रश्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरुरी रहेको बताए । उनले पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी रहेको बताए ।

पूर्वसभामुख रानाभाटले भने,‘मुलुकको आर्थिक, सामाजिक विकासका निम्ति काम गर्ने र साम्प्रदायिक सद्भाव, क्षेत्रीय आधारमा आफूलाई प्रश्तुत गर्ने होइन । नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रश्तुत हुने एउटा परम्परा र संस्कृति राजनीतिक पार्टीहरुले आफ्ना कार्यकर्तालाई सिकाउन् । कार्यकर्ता आफ्ना झोले मात्रै बनुन् भन्ने जुन परम्परावादी, सामन्ती सोच हाम्रा पार्टीहरुमा छ । अहिले पनि छ । दुःखका साथ भन्नुपर्छ । म पनि त्यही पार्टीको ज्यादै जिम्मेवार तहमा बसेर सेवा गरेको मान्छे छु । त्यसैले हामी यो पुरानो शैलीलाई, सामन्ती शैलीलाई चटक्क छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोचबाट प्राथमिकताका प्रश्नलाई खोज्नुपर्छ ।’

पूर्वसभामुख रानाभाटले नेपालका राजनीतिक दलहरु मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरुको ऋणसँग बढी झुकेको बताए । उनले यसलाई मेटाउन सक्नुपर्ने बताए । उनले आफ्नो स्वार्थ भन्दा माथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने बताए । उनले न्यायपालिका बाहेकका अरु सम्पूर्ण निकायहरुलाई कडा ढंगले सुझाव दिनुपर्ने बताए ।

पूर्वसभामुख रानाभाटले वर्षको एक पटकको साधारण सभाले पूर्व सांसद मञ्चको कर्तव्य पूरा नहुने उल्लेख गरे । बहुदलीय व्यवस्थाको लामो अनुभव बटुलिसके पनि नागरिक आशामुखी हुन नसकेको बताउनु भयो । देशमै कामको समुचित व्यवस्था अझै हुन नसकेको बताए ।