२७ बैशाख, काठमाडाैं । द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
टीआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले आम द्वन्दपीडित समुदायलाई पूणरुपमा उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा आयोगमा सिफारिस गर्न लागिएको आरोप लगाएका छन् ।
उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णतः उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा टीआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् । प्रदर्शनकारीहरूले सिफारिस समिति खबरदार, जबरजस्ती गरे बहिष्कार, नयाँ सिफारिस प्रक्रिया थालियोस्, भागबन्डाको समिति मान्दैनौ लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
उनीहरूले सरकार र दल नियन्त्रित प्रक्रियाबाट बनाइने आयोग नमान्ने जनाएका छन् ।
उनीहरुले पीडित समुदायको माग सम्बोधन नभए पीडितहरुको अनुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी दिएका छन् ।