|  

बाघको संख्या पर्याप्त रहेकाले अब बढाउन हुँदैनः प्रधानमन्त्री

२७ बैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताएका छन् ।

आज काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरेको भन्दै अब पनि बाघको संख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गरे । उनले बाघ तस्बिरमा देख्दा धेरै राम्रो भएपनि उसलाई जीवनयापन गर्नका लागि आफ्नो क्षेत्र चाहिने उल्लेख गरे ।

 तस्बिरमा बाघ हेरेर कुरा नगर्न पनि उनकाे आग्रह छ । उनले बाघ क्षेत्रपति जात भएकाले बाघले आफ्नो सीमाना लगाउने र सीमाना नपुगे बाघहरुबीच लडाईं हुने बताए । उनले बाघलाई खाना नपुगेपछि खानाको खोजिमा बाहिर निस्किने र त्यो बेलामा मान्छे खानु हुँदैन भनेर ज्ञान बोकेर नहिँड्ने कटाक्ष गरे । उनले बाघले कानूनको किताव पढेको नहुने भन्दै बाघलाई मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद परिन्छ भन्ने ज्ञान नहुने बताए । 

प्रधानमन्त्री ओलीले बाघ खेलाँची गर्ने जनावर नभएको बताउँदै उनले प्रकृति संरक्षण लागि बाघको संरक्षण अनिवार्य रहेको बताए।