२७ बैशाख, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमण विरुद्ध पाकिस्तानले आज ‘संगठित, सशक्त र निर्णायक जवाफ’ दिएको बताएका छन् ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज हामीले निर्दोषहरूको रगतको बदला लिएका छौं। भारतलाई उपयुक्त जवाफ दिइएको छ ।’ शरीफले पाकिस्तानले मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको पुष्टि गर्दै यो कारबाहीलाई ‘राष्ट्रिय सुरक्षाको रक्षा’ को रूपमा प्रस्तुत गरेका छन ।
दुवै देशका अधिकारीहरूले आक्रमणको प्रतिरक्षा गरिरहे पनि सर्वसाधारणहरू भने निकै प्रभावित भएका छन । जम्मु–कश्मीरमा जारी तनावपूर्ण अवस्थाका कारण जम्मु रेलवे स्टेशनमा प्रवासी मजदुरहरूको भीड लागेको छ । उनीहरू भारतका बिहार, उत्तर प्रदेश, झारखण्ड लगायतका विभिन्न राज्यहरूतर्फ फर्किंदै छन् । जम्मु क्षेत्रका विभिन्न बस्तीहरूमा गोलीबारी भएपछि यो सर्न सुरू भएको हो ।
भारतले पहलगाम आक्रमणको प्रतिशोधमा गरेको हवाई हमलापछि पाकिस्तानले गएराति ठूलो मात्रामा जवाफी कारबाही सुरु गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थालाई हेर्दा यो निकै संवेदनशील र खतरनाक मोडमा पुगेको देखिन्छ । दुई देशबीच तोपखानामा हमला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । यी हमलाहरूमा अहिलेसम्म पाकिस्तानतर्फ १० भन्दा बढीको मृत्यु र ५० भन्दा बढी घाइतेको पुष्टि भएको छ ।
पछिल्ला घटनाहरूले सामान्य जनजीवनमा गम्भीर असर परेको छ । सम्पूर्ण उडानहरू निलम्बित छन्, विद्यालयहरू बन्द छन्, र यातायात ठप्प छ। यसले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पारिरहेको छ । दुवै देशबीच पूर्ण युद्ध भयो भने सबैभन्दा धेरै पीडित जनसाधारण नै हुने र यसको सामान्य जनजीवनमा विनाशकारी असर पर्ने विश्लेषकहरूले बताइरहेका छन् ।