|  

आतंकी हमला देशमाथिको युद्धसरह मानिने भारतकाे चेतावनी !

२७ बैशाख, काठमाडौं । भारतले अबदेखि हुने कुनै पनि आतंकी हमला देशमाथिको युद्धसरह मानिने चेतावनी दिएको छ ।

भारत-पाकिस्तानबीचको चुलिँदो तनावबीच भारतको यो चेतावनी आएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले आतंकी गतिविधिमाथि स्पष्ट ‘रेडलाइन’ को घोषणा गर्दै यस्ता हमलाको योजना बनाउने र कार्यान्वयन गर्नेहरूलाई कडा प्रतिकार गरिने सन्देश दिएको छ । भारतले आतंकवादसँग जोडिएका गतिविधिका लागि पाकिस्तानलाई निरन्तर जिम्मेवार देखाउँदै आएको छ ।

बिहीबार पाकिस्तानले भारतका जम्मु-कश्मीरदेखि गुजरातसम्मका २६ स्थानमा ड्रोन हमला गरेपछि भारतले जवाफी कारबाहीस्वरूप पाकिस्तानका चारवटा एयरबेसमा हवाई आक्रमण गरेको थियो । यसअघि २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकी हमलामा सीमा पारका आतंकी समूहको संलग्नता देखिएपछि भारतले पाकिस्तान र पाकिस्तानअधिकृत कश्मीर (पीओके) मा रहेका आतंकी लन्चप्याडहरूमा सटीक हमला गरेको थियो । यही सन्दर्भमा प्रधानमन्त्री मोदीले दिल्लीस्थित निवासमा भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, चीफ अफ डिफेन्स स्टाफ र तीनवटै सेनाका प्रमुखहरूसँग आपतकालीन बैठक गरेका थिए ।

पाकिस्तानले शुक्रबार राति गरेको ड्रोन हमलामा भारतीय सेना अनुसार विमानस्थल, एयरबेस र अन्य महत्वपूर्ण संरचनामा क्षति पुर्‍याउने प्रयास गरिएको थियो, तर भारतीय सुरक्षाफौजले ती प्रयास विफल बनाएको जनाएको छ । बिहीबार साँझ जम्मु क्षेत्रमा पाकिस्तानले प्रहार गरेका आठवटा क्षेप्यास्त्रसमेत भारतीय हवाई सुरक्षा प्रणालीले नष्ट गरेको थियो ।