२७ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारको गलत रबैयाबाट हौसिएर प्रतिगामी शक्तिले टाउको उठाउने प्रयास गरेको बताएका छन् ।
पार्टीको रामेछाप-काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशनलाई आज राजधानीमा उदघाटन गर्दै पुनले राजावादी शक्ति उत्साहित हुनुमा प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप जिम्मेवार रहेको आरोप लगाएका हुन् । ओलीले सहकारी, भुनानी शरणार्थी र मिटर ब्याजमा मुछिएका सत्तारुढ दल निकटका व्यक्तिहरूलाई छानीछानी जोगाउने र विपक्षीमाथि प्रतिशोध साँधेको उनको टिप्पणी छ ।
पुनले दुई तिहाईको शक्तिशाली सरकारले मुलुक र जनताका लागि राम्रो काम गर्नुको साटो उल्टै व्यवस्थाको बदनाम गरेको टिप्पणी गरे। पुनले बिचौलिया र प्रतिगामी शक्तिविरुद्ध आफूहरू सधैं लड्ने चेतावनी दिए । विगतमा कर्मचारी, सचिवको सरुवा र मन्त्री नियुक्त गर्ने गरेका बिचौलिया वर्ग अहिले सरकार नै फेर्ने हैसियतमा पुगेको उनको भनाइ छ । सुशासनको पक्षमा काम गर्दा र बिचौलियासँग झुक्न तयार नभएका कारण प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालिएको पुनले बताए । आफूहरूले निजी क्षेत्रका सबैलाई नभई लगानी र प्रतिस्पर्धाबिनै लाइसेन्स बेचेर नाफा कमाउने वर्गलाई बिचौलिया भनेको उनको प्रष्टीकरण थियो ।
फरक प्रसंगमा पुनले सार्वभौम नागरिक भइसकेका जनता फेरि रैतीमा फर्कन र वंश परम्पराबाट शासित हुन नचाहने भन्दै प्रतिगामी शक्तिहरू सफल नहुने चेतावनी दिए ।