२७ बैशाख, काठमाडौं । फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्याइने भएको छ ।
विश्व फुटबल नियामक संस्था फिफाले सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो । फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो । यसले थप राष्ट्र र खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मद्दत गर्ने विश्वास गरिएको छ। ४८ टोली सहभागिताको नयाँ ढाँचामा अब १२ समूह रहनेछ, जसले कुल खेल सङ्ख्या ६४ बाट बढाएर १०४ पुर्याउनेछ र प्रतियोगिता एक हप्ता थप लम्बिनेछ । फिफा महिला विश्वकप सन २०३१ देखि सुरु हुनेछ ।
यसैबीच, पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदै छ, जुन संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन्।