२७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रवीन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
शनिबार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्न माग गरे।
उनले आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताए।
उनीहरु आस्थाको बन्दी भएको उनको भनाइ छ। उहाँले हतियार बोकेर वा कुनै हिंसात्मक गतिविधिमा संलग्न नभएको व्यक्तिहरुलाई सरकारले अपराधीसरह पक्राउ गरी झुटा मुद्दा लगाउने दुष्प्रयास गरेका आरोप लगाए।
उनले वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाए। उनले आस्थाका बन्दीहरुलाई रिहाइका लागि देशभरबाट सरकारलाई दबाब दिनेक्रम जारी रहेको उल्लेख गरे।