२८ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशका हिमाली भू-भागका एक / दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका हिमाली भू-भागका एक / दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भूभागका एक / दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।