२८ बैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबारे गरेका टिप्पणीलाई तपाई के बोल्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अहिले प्रचण्डका हरेक बोलीमा तथ्य नभइ कुण्ठामात्रै रहेको टिप्पणी गरेका छन् ।पोखरेलले प्रचण्डलाई उद्धृत गर्दै लेखेका छन्’ तथ्यहरूले तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ ।’
पोखरेलले माओवादी प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढेको बताएका छन् । माओवादी अध्यक्ष दाहालले सरकारबारे गरेको टिप्पणी र सरकार डरले रुझेको बिरालो जस्तै बनेको भन्ने अभिव्यक्तिको जवाफ स्वरुप महासचिव पोखरेलले सरकारका उपलब्धि प्रस्तुत गरेका हुन्।
अध्यक्ष प्रचण्डले शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने कुरा एउटा पनि नगरेको बताएका थिए । ‘यो सरकारको रुझेको बिरालोको हालत भएको छ,’ उनले भनेका थिए, ‘सरकार दुई तिहाइको छ तर मनमा डर बोकेर बसेको छ।’