२८ बैशाख, काठमाडौं । भारत सरकारले सगरमाथा संवादको पहिलो संस्करणका निम्ति सहयोगस्वरूप १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।
नेपाल-भारत सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका ती सवारीसाधन आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा परराष्ट्रमन्त्री राणाले सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन दिइन् ।
उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन् । मन्त्री डा.राणाले यही मे १६‐१८ मा आयोजना हुने सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।
सो अवसरमा राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा पुर्याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे ।
जलवायु परिवर्तनको चुनौती यस क्षेत्रकै साझा समस्या रहेकाले यसको समाधानमा अवलम्बन गरिने उपायमा भारत सरकार नेपालको साथ रहेको पनि उनले बताए ।