२८ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताएका छन् ।
जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार भएको उल्लेख गर्दै उनले आज पनि महिलाहरुमाथि धेरै खालका विभेदहरु हुने गरेकोमा चिन्ता व्यक्त गरे । उनले महिलामाथि हुने विभेदमा एउटा लैङ्गिक असमानता रहेको बताए । नेपालमा तुलनात्मक रुपमा सबैभन्दा बढी महिला हिंसा मिथिला भूमिमै हुने गरेको बताए ।
उनले भने, ‘महिलाको समानता विकासको आधार हो । उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार हो । यो इतिहासले प्रमाणित गरिसकेको छ । तर आज पनि महिलाहरुमाथि धेरै खालका विभेदहरु नेपाल लगायत विभिन्न मुलुकमा भइरहेका छन् । ति विभेदहरु बिरुद्ध संसारभरका महिलाहरु, महिला संगठनहरुले संघर्ष गरिरहेका छन् । ति विभेदहरुमा एउटा ठूलो विभेद के हो भने लैङ्गिक असमानता हो । लैङ्गिक असमानतामा महिला, तेस्रो लिङ्गी लगायतका अरु पनि पर्छन । महिलाहरुले महिला भएकै कारणबाट हिंसा भोग्नुपर्ने, हाम्रो समाजमा मिथिलाका साथीहरु हुनुहुन्छ । जानकीलाई माता मान्ने साथीहरु हुनुहुन्छ, म पनि मान्छु । तर नेपालमा हेर्ने हो भने तुलनात्मक रुपमा सबैभन्दा बढी महिला हिंसा यही मिथिला भूमिमा छ । हरेक दिन एउटा न्युज आइरहेको हुन्छ । शिक्षामा तुलनात्मक रुपले सबैभन्दा बढी महिला पछि परेको यही ठाउँ हो । सीताको पूजा गरेर आउने, छोरी, श्रीमती वा अरुलाई सम्मान नगर्ने स्थिति छ । बालविवाह अझै बाँकी छ ।’
अध्यक्ष यादवले शिक्षामा सबैभन्दा बढी महिलापछि परेको स्थान मधेस प्रदेश नै रहेको बताए ।