२८ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गर्दै ऐनामा आफ्नो अनुहार हेरेर अरूलाई गाली गर्ने गरेको टिप्पणी गरेका छन् ।
नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताहरूले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोलेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
संसद्मा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासको जवाफ दिंदै उनले भने, ‘विपक्षी दलका माननीयज्यूहरूले अलि टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोल्नु भएको थियो । म त्यता पट्टि जान चाहन्न । ऐना अगाडि राख्ने ऐनामा हेर्ने अनि यस्तो रहिछस् उस्तो रहिछस् भनेर अरूलाई गाली गर्ने । मैले त्यसमा केही भनिरहनु आवश्यक छैन जस्तो लाग्छ । आफैं ऐना हेर्ने आफैं आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै मेरो आग्रह हो ।’