|  

नेतृत्व नसच्चिए देश दुर्घटना नजिकः गोपीबहादुर सार्की

२८ बैशाख, काठमाडाैं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले विगतका सरकारले निरन्तरता दिएको दलितसँग सम्बन्धित कतिपय विषय सरकारको नीति तथा कार्यक्रमबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन्।

आज राष्ट्रिय सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन । उनले शक्तिशाली र अधिकार सम्पन्न दलित प्राधिकरण गठन गर्ने दलितसँग सम्बन्धित विषयको बँदा नम्बर २१३ हटाउनु गलत भएको बताए । उनले सबैतिर आर्थिक समस्या भइरहेको समयमा दलितहरुको परम्परागत सिप र अनुभवलाई संस्थागत गरी पूँजी बजारमा जोड्न सकिने विषय हटाउनु दुःखद् भएको बताए ।

उनले वैदेशिक रोजगारबाट फर्किएका युवाको सिप, ज्ञान र पुँजी सदुपयोग गरी स्वदेशमा पूँजी निर्माणका बारेमा नीति तथा कार्यक्रममा केही उल्लेख नभएको बरु विगतका सरकारले ल्याएको कार्यक्रम हटाएको आरोप लगाए । राष्ट्रिय सभा सदस्य सार्कीले सरकारको नेतृत्वप्रति जनताले हेर्न दृष्टिकोण नकारात्मक रहेको भन्दै नसच्याउने हो भने देश दुर्घटनाको नजिक भएको बताए । देशमा आउनसक्ने सम्भावित जटिल परिस्थितिबाट बचाउन सबै राजनीति दलहरुले छलफल गरी समझदारी कायम गर्नुपर्ने उनको भनाइ छ ।