२८ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन गर्ने प्रस्ताव ल्याउन राप्रपालाई चुनौती दिएका छन ।
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशनलाई आज धरानमा उद्घाटन गर्दै प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गरे अहिले पनि हत्यारा पत्ता लाग्ने भन्दै यस्तो चुनौती दिएका हुन् । नक्कली राजाको पक्षमा बोल्नेहरू ‘रियल’ राजा (स्वर्गीय वीरेन्द्र)को हत्यारा पत्ता लगाउन मौन बस्नु गम्भीर विषय भएको उनले बताए । उनले भने, ‘राजसंस्था चाहिन्छ भन्ने राप्रपाका साथीहरू त्यत्रो भयानक दरबार हत्याकाण्डको छानबिनको प्रस्ताव ल्याउन सक्नुहुन्छ ? भयानक हत्याकाण्डको जिम्मेवार को हो ? जनताको मनमनमा क्लियर छ । सही छानबिन गर्ने हो भने हत्यारा आँखा अगाडि छन् । प्रमाणित गर्न गाह्रो छैन ।’
जनताले पत्याएका राजा वीरेन्द्रको हत्यारा पत्ता लगाउन माग नगर्नेहरू नक्कली राजावादी भएको प्रचण्डको आरोप छ । प्रचण्डले जेठ १५ गते संविधानलाई चुनौती दिने दुस्साहस गर्न लागेको भन्दै यसलाई माओवादीले रोक्ने चेतावनी दिए ।