|  

काममा ढिलाई स्वीकार्य हुँदैनः उपप्रधानमन्त्री सिंह

२८ बैशाख, काठमाडाैं । उपप्रधानमन्त्री एवम शहरी विकास मन्त्री प्रकाशमान सिंहले मातहतका विभागलाई चालू आर्थिक वर्षका जारी आयोजना टुंगोमा पुग्ने गरि काम गर्नु निर्देशन दिएका छन् ।

आज मन्त्रालय मातहत रहेका विभाग र आयोजना प्रमुखहरूसँग चालू आर्थिक वर्षका कामबारेको समीक्षा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन । सम्पन्न गर्न सकिने योजनाहरूको काममा कुनै पनि बहानामा ढिलाइ नगर्न समेत उनले सचेत गराए । कुनै पनि आयोजनामा केही समस्या भए त्यसलाई समाधानका लागि शहरी विकास मन्त्रालयले समन्वय गर्ने तर काममा ढिलाई स्वीकार्य नहुने उनको भनाइ छ ।

गत शुक्रबार बसेको समीक्षा बैठकमा उपप्रधानमन्त्री सिंहले विभाग प्रमुखहरूलाई ३ दिनभित्र कामको गति बढाउने लिखित कार्ययोजनासहित आउन निर्देशन दिएका थिए । आज विभागीय प्रमुखहरूले आफ्नो कार्यालयले प्राप्त गरेको उपलब्धि र चालू कामबारे जानकारी गराएका थिए । अहिले कामको प्रगति कम देखिएपनि अब गति बढाउने बताएका छन ।

उपप्रधानमन्त्री सिंहले बैठकमा गफ गर्ने तर परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको भन्दै समीक्षा बैठकमा भएकाकुराहरुलाई गम्भीरताका साथ पालना गर्दै परिणाम निकाल्ने गरि काम गर्न पुनः सचेत गराए । शहरी विकास मन्त्री सिंहले मन्त्रायल र मातहतका विभागबाट हुने काम समयमै सक्ने गरि गर्नुपर्नेमा उनको जोड छ ।