२८ बैशाख, काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भारत र पाकिस्तानबीचको युद्धविरामबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यको स्वागत गरेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले एक्समा पोस्ट गर्दै भनेको छ,‘पाकिस्तानले भारत-पाकिस्तान सम्बन्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानको स्वागत गर्दछ । हामी पाकिस्तान र भारतबीचको हालैको युद्धविरामलाई समर्थन गर्न अन्य मित्र राष्ट्रहरूसँग मिलेर संयुक्त राज्य अमेरिकाले खेलेको रचनात्मक भूमिकाको कदर गर्छौं ।’
विज्ञप्तिमा विदेश मन्त्रालयले जम्मु-कश्मीर विवाद समाधान गर्ने प्रयासलाई समर्थन गर्दै राष्ट्रपति ट्रम्पले देखाएको तत्परताको कदर गर्ने बताएको छ । यसअघि डोनाल्ड ट्रम्पले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै भारत र पाकिस्तानसँग कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्ने प्रयास गरिरहेको उल्लेख गरेका थिए ।