२९ बैशाख, काठमाडौं । हमासले आफ्नो कब्जामा रहेका अमेरिकी नागरिक र इजरायली सैनिक एडन एलेक्जान्डरलाई रिहा गर्ने घोषणा गरेको छ ।
इजरायल र हमासबीच युद्धबिराम सम्झौताको प्रयासको रूपमा ती युद्धबन्दीलाई हमासले मुक्त गर्न लागेको स्रोतले जनाएको छ । हमासको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पश्चिम एसिया भ्रमणको ठीक अघि आएको हो । ट्रम्प मंगलबारदेखि पश्चिम एसियाको भ्रमणमा जाँदै छन् ।
यसअघि उनलाई मुक्त गर्ने विषयमा आफूले अमेरिकी ट्रम्प प्रशासनका अधिकारीसँग कतारमा प्रत्यक्ष वार्ता गरेको हमासले बताएको थियो ।सामाजिक संजालमा पोष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि एलेक्जान्डर कब्जा मुक्त हुन लागेको बताए ।
इजरायलको तेलअभिभमा जन्मिएका एडन एलेक्जान्डर द्वैध नागरिक हुन जो सँग अमेरिकी र इजरायली नागरिकता छ । इजरायली सेनामा सेवा गर्दै थिए । उनी गाजानजिकको क्षेत्रमा तैनाथ थिए ।हमासले उनलाई ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो ।