|  

गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति यादव​​

२९ बैशाख, काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा जोड दिएका छन् ।

काभ्रे सेवा समाजद्वारा आयोजित बुद्धजयन्तीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीय स्थल नमोबुद्धसम्म आयोजित वृहत शान्ति पदयात्राको आज उद्‌घाटन गर्दै पूर्वराष्ट्रपति डा. यादवले यस्तो बताएका हुन् । उनले परिवर्तित समयमा पनि गौतमबुद्धका सन्देश देश विदेशका हरेक नागरिकका लागि उपयोगी भएको बताए । शान्ति र सद्‌भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए ।​

गौतमबुद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखिे सुन्थान-ईंटे-शङ्खु-शङ्खेश्वरी-जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो । समाजले यसअघि २०८० असोजमा पनि  सोही ‘रुट’मा पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा पाँच सयभन्दा बढी सहभागी रहेका आयोजकले जनाएको छ ।