|  

युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

२९ बैशाख, काठमाडौं । युद्धविरामपछि भारतले ३२ वटा विमानस्थल पुनः खोलेको छ ।

भारतीय विमानस्थल प्राधिकरणले भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभावबाट’ नागरिक सञ्चालनका लागि उपलब्ध रहेको जनाएको छ । भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण लडाइँ सुरु भएपछि गत हप्ता ती विमानस्थल बन्द गरिएका थिए । विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा विकसित हुनसक्ने विश्वव्यापी चिन्ता सिर्जना गरेको थियो ।

प्रमुख भारतीय एयरलाइन इन्डिगोले ‘पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः सञ्चालन सुरु गर्ने’ बताएको छ । युद्धविरामको घोषणा शनिबार गरिएको थियो, तर दुवै पक्षले तुरुन्तै एक अर्कामाथि यसको उल्लङ्घन गरेको आरोप लगाएका थिए । यद्यपि भारत र पाकिस्तान दुवैले सोमबार सीमावर्ती क्षेत्रहरू शान्त रहेको बताएका छन्।