|  

उर्जामन्त्रीकाे आश्वासन- बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्छ

२९ बैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने आश्वासन दिएका छन् ।

मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका-भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गरिने मन्त्री खड्काले बताए । पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन महत्वपूर्ण भएको उनले बताए । वि.सं २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो ।