२९ बैशाख, काठमाडौं । गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिएको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् । आफू गृहमन्त्रीको साथी हुँ भनी विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोनमार्फत गाली, डरत्रास तथा धाक धम्की दिई दैनिक कामकाजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न श्रेष्ठलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८, तीनदोबाटोबाट पक्राउ गरेको हो । उनलाई राष्ट्रसेवक कर्मचारीलाई कामकाजमा बाधा विरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ ।