३० बैशाख, काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ ।प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गर्ने कार्यसूची रहेको छ ।
सरकारले विनियोजन विधेयक र प्राथमिकतामाथि छलफलका क्रममा प्राप्त सुझाव, विचारलाई आधारका रूपमा लिई आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नेछ ।
यसअघि यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२ / ०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भएको थियो ।