३० बैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै पछिल्ला दिनहरूमा देशवासीले देखाएको सामर्थ्य र धैर्यको प्रशंसा गरेका छन् ।
उनले ‘अपरेशन सिन्दूर’ मा साहस देखाउने भारतीय सेनाको उच्च सम्मान गर्दै यो सफलता देशका आमाबुबा, दिदीबहिनीलाई समर्पित रहेको पनि बताए । प्रधानमन्त्री मोदीले २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाले सम्पूर्ण भारत र विश्वलाई हल्लाएको बताए ।
उनले निर्दोष नागरिकलाई धर्मका आधारमा क्रूरतापूर्वक हत्या गर्नु आतंकको घिनलाग्दो रूप भएको पनि बताए।‘आज प्रत्येक आतंककारीले बुझिसकेको छ कि भारतका छोरी–बहिनीहरूको सिन्दूर मेटाउनेहरूको अन्त्य निश्चित छ,’ प्रधानमन्त्री मोदीले चेतावनी दिँदै भने।’अपरेसन सिन्दूर’ ले नयाँ मानक बनायो ।
प्रधानमन्त्री मोदीले ६ मे राति र ७ मे बिहान भारतीय सेनाले पाकिस्तानस्थित आतंकवादी शिविरहरूमा सटीक आक्रमण गरेको जिकिर पनि गरे । बहावलपुर र मुरिद्के जस्ता आतंकवादका केन्द्रहरू ध्वस्त पारिएको उनको दाबी छ ।‘त्यस कारबाहीमा १०० भन्दा बढी कुख्यात आतंककारीहरू मारिएका छन्, जसमध्ये दशकौंसम्म पाकिस्तानमा खुलेआम घुम्ने शीर्ष आतंकवादी नेता पनि छन्,’ उनले भने ।
प्रधानमन्त्री मोदीले भारतको कारबाहीबाट पाकिस्तानलाई नराम्रोसँग झस्काएको पनि बताएका छन् । उक्त कारबाहीपछि पाकिस्तानी सेनाले भारतका विद्यालय, मन्दिर र नागरिकहरूको बसोबास रहेको क्षेत्रमा आक्रमण गर्ने दुस्साहस गरेको जिकिर गरे । उनले भारतको वायु प्रतिरक्षा प्रणालीले पाकिस्तानका ड्रोन र मिसाइलहरू आकाशमै ध्वस्त पारिदिएको दाबी भारतीय सञ्चारमाध्यमको शैलीमा गरे।
‘तीन दिनमै भारतले पाकिस्तानलाई यति ठूलो क्षति पुर्यायो कि उनीहरू विश्वसमक्ष तनाव कम गरिदिन हारगुहार गर्न थाले,’प्रधानमन्त्री मोदीले भने ।
‘तनाव कम गर्न पाकिस्तान विश्वलाई बिन्ती गरिरहेको थियो र भारी क्षति बेहोरेपछि पाकिस्तानी सेनाले मे १० को दिउँसो हाम्रो डीजीएमओलाई सम्पर्क गर्यो । त्यतिन्जेलसम्म हामीले ठूलो मात्रामा आतङ्कवादको पूर्वाधार नष्ट गरिसकेका थियौं । आतङ्ककारीहरूलाई समाप्त पारिसकेका थियौं,’उनले भने, ‘हामीले पाकिस्तानको मुटुमा स्थापित आतङकवादी अड्डाहरू नष्ट गरिसकेका थियौं । त्यसकारण, जब पाकिस्तानले अपील गर्यो र भन्यो कि यो अब कुनै पनि प्रकारको आतङ्कवादी गतिविधि वा सैन्य दुस्साहसमा संलग्न हुनेछैन, भारतले यसमाथि विचार गर्यो ।
आतंकविरुद्धको नीति स्पष्ट स् मोदीले के-के घोषणा गरे ?
१.भारतमाथि आतंकवादी हमला भएमा कडा जवाफ दिइनेछ।
२.आणविक धम्कीको आवरणमा आतंकवाद सह्य हुने छैन।
३.आतंकको संरक्षक सरकार र आतंककारीबीच कुनै भिन्नता मानिने छैन।
४. ‘अपरेसन सिन्दूर’ले नयाँ मानक तय गरेको छ। अब आतंक र वार्ता सँगै हुन सक्दैन । आतंक र व्यापार सँगै चल्न सक्दैन । रगत र पानी सँगै बग्न सक्दैन।