|  

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध

३० बैशाख, काठमाडौं । सोमबार रातिको अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ ।

उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको छैन ।गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।

यसैबिच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।

मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो । आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको छ ।