३० बैशाख, काठमाडौं । अमेरिकामा शरणार्थी दर्जा पाउने ५९ जना दक्षिण अफ्रिकी अल्पसंख्यक गोरा नागरिक अमेरिका पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष योजनाअनुसार उनीहरूलाई अमेरिका ल्याइएको हो । यो शरणार्थी दर्जामा अमेरिका भित्रिने पहिलो समूह रहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरू दक्षिण अफ्रिकामा जातिगत भेदभावको शिकार भएको भन्दै शरणार्थी आवेदन प्रक्रिया छिटो गरिएको बताएका छन् ।
एकातिर ट्रम्प प्रशासनले युद्ध भइरहेका क्षेत्रका मानिसले गरेको शरणार्थी आवेदन रोकेको छ भने अर्कोतिर दक्षिण अफ्रिकी अल्पसंख्यक गोरा नागरिकहरू अमेरिकामा द्रुत पक्रियामार्फत शरणार्थीको दर्जा दिएर ल्याएको छ ।
सोमबार वाशिंगटन डीसीनजिकैको डल्स विमानस्थल पुगेका यी गोरा दक्षिण अफ्रिकी समूहलाई अमेरिकी अधिकारीहरूले भव्य स्वागत गरेका थिए ।केहीले साना बच्चाहरू बोकेका थिए र भित्तामा रातो, सेतो र नीलो बेलुन सजिएको आगमन क्षेत्रमा अमेरिकी झण्डा हल्लाए ।