३० बैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको बताएका छन् ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्तीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिरहेको बताए ।
‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो,’ उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’ उनले विधेयकको ड्राफ्ट बन्ने क्रममा रहेको पनि बताए ।
साथै गुरुङले जातीय सद्भावमा खलल पुर्याउने काम नेपाली मिडियाबाट भइरहेको आरोप लगाए । ‘समाजमा अलि कसैले राम्रो काम गर्यो भने त्यसलाई खेद्ने काम मिडियाबाट भइरहेको छ,’ उनले भने, ‘अझ अनलाइन मिडियालाई व्यवस्थित बनाउनुपर्ने छ ।’