|  

कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैनः रमेश लेखक

३० बैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चाँडै नियुक्त हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर गभर्नर नियुक्तिमा तपाईँहरूलाई पेल्नु भयो नि ’ भन्ने प्रश्नमा मन्त्री लेखकले कसैले कोहीसँग तस्बिर खिचाउँदैमा भेटघाट गर्दैमा यसले गठबन्धनमा कुनै असर नपार्ने बताए ।

‘एमाले र काँग्रेस बिचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ,’ उनले भने ।मन्त्री लेखले यो सरकारले १० महिनामा गरेका उपलब्धिहरूको प्रशंसा गर्दै, आर्थिक सूचकांकहरू हेर्न र अर्थतन्त्र तथा कानुनी क्षेत्रमा भएका प्रगतिहरूलाई मूल्यांकन गर्न आग्रह गरे । केपी ओली नेतृत्वको सरकार भोलि १० महिना पुग्दै छ ।