|  

विवाहको ६ महिनामै २१ वर्षीया युवतीको मृ#त्यु, माइतीले लगाए हत्याको आरोप 

३० बैशाख, काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एकजना महिलाको शङ्कास्पद मृत्यु भएको छ ।

माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाहीको माग गरेका छन । कटहरिया ३ बड़ेरवा टोल घर भई हाल कटहरिया ५ बस्ने अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो । आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो । मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ।

मृतककी आमाका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमानसँग मुस्लिम परम्परा अनुसार भएको थियो । विवाहपछि ज्वाइँले निरन्तर दाइजोको लागी सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । ज्वाइँ तथा उनको परिवारले योजनाबद्ध तरिकाले सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन् ।