सोमवार २१ जेष्ठ, २०८२  | Monday 2 June, 2025 

सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि, चीन र भारतीय प्रतिनिधिको विशेष सम्बोधन

३० बैशाख, काठमाडौं ।  सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने बताइन् ।

उनले संवादमा ३ सय ५० जना सहभागी रहने जानकारी दिइन् । सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरुको उपस्थिति रहने बताइन् ।

संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको बताएकी छन् । मन्त्री राणाकाअनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ ।

तयारीस्वरुप सरकारले करिव १० वटा पूर्व संवाद कार्यक्रम आयोजना गरेको बताइन् । जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि-संवाद लगायत रहेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् ।

त्यस्तै परराष्ट्रमन्त्री डा. राणा कार्यक्रममा पाहुनाहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने संवादसम्बन्धी तयार पारिएको चिनारियुक्त भिडियो प्रश्तुत गरिनेछ ।

साथै चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने मन्त्री राणाले बताइन् ।

१.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ ।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको बताइन् ।

सगरमाथा संवाद ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन भइरहेको सरकारले जनाएको छ ।