|  

देशको ढुकुटी रित्तिएकाले केही गर्न आँट आएको छैनः प्रधानमन्त्री

३० बैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन् ।

सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेको बताउँदै अहिले पैसा नहुँदा यो काम गर्छु भन्न पनि डराउनुपर्ने स्थिति रहेको बताए । उनले यसअघि प्रधानमन्त्री हुँदा धेरै पैसा रहेकाले जे पनि गर्नुपर्छ भनेर काम शुरु गरेको भन्दै सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको बताए ।

सोही समयमा निर्माण शुरु भएका ६० भन्दा बढी स्वास्थ्य केन्द्रहरु अहिले सञ्चालनमा रहेको बताए । उनले एक रुपैयाँ चन्दा उठाएर नेकपा एमालेको पार्टी कार्यालय बनाइदिने सम्मका कुराहरु आएको भन्दै त्यो भन्नमा र गर्नमा फरक हुने बताए ।

प्रधानमन्त्री ओलीले आफू तीन वर्षको अन्तरालमा प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको बताए । पैसाको कमीले पहिला जस्तो यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने आँट गर्न नसकिरहेको भएपनि अर्थतन्त्र भने अब ओरालो नलाग्ने बताए ।