|  

गभर्नरको विषयलाई सरकारले राजनीतीकरण गर्‍यो : वर्षमान पुन

३० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्ने कुरा गभर्नर नियुक्तिसम्म आइपुग्दा प्रष्ट भएको बताए।

उनले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटी गभर्नरहरुबाट नै बनाउने प्रचलन भए पनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने विश्वव्यापी चलन रहेको उल्लेख गरे।

उपमहासचिव पुनले अहिले कुनै स्वार्थ समूहले रुचाएको र उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएकोले स्वार्थसमूहसँग डिएनए नमिलेसम्म गभर्नर नियुक्ति नहुने दाबी गरे।

उनले मौद्रिक नीतिमा, आर्थिक नीतिमा वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति गभर्नर बन्दा आफूहरूको आपत्ति नहुने स्पष्ट गरे।

उनले भने, ‘कि चाहिँ गभर्नर राष्ट्र बैंकको डेपुटी गभर्नरहरुबाट बनाउने चलन छ। कि त्यस्तै प्रकारको मौद्रिक नीतिमा विज्ञ र विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने चलन परम्परा हो। तर, यहाँ पार्टीको कार्यकर्ता अझ अरु कुनै स्वार्थ समूहले रुचाएको उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएको छ। स्वार्थ समूहसँग डिएनए नमिलेसम्म यो नियुक्ति हुनेवाला छैन।’