|  

मोदीको सम्बोधन उत्तेजक र भड्काउ : पाकिस्तान

३० वैशाख, काठमाडौं ।  पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गरेको भाषणलाई उत्तेजक भन्दै अस्वीकार गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले मोदीको बयानलाई भड्काउ भन्दै खारेज गरेको हो ।

विदेश मन्त्रालयले भनेको छ- 'यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला, यो कथनले गलत सूचना, राजनीतिक अवसरवाद र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट अवहेलनामा आधारित खतरनाक उत्तेजनालाई प्रतिनिधित्व गर्दछ ।'

मोदीले सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय सेनाले पाकिस्तानमा रहेको आतंकवादी शिविर र उनीहरूका तालिम केन्द्रहरूमा सटिक हमला गरेको बताउदै आणविक आक्रमणको धम्कीबाट आफू ब्ल्याकमेल नहुने बताएका थिए । पाकिस्तानले भारतले कुनै गल्ती गर्नु हुँदैन भन्दै आगामी दिनहरूमा भारतको कार्य र व्यवहारको नजिकबाट समीक्षा गर्ने बताएको छ । 

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ- 'भारतले कुनै गल्ती गर्नु हुँदैन। हामी आगामी दिनहरूमा यस सम्बन्धमा भारतको कार्य र व्यवहारको नजिकबाट समीक्षा गर्नेछौं। हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि त्यसै गर्न अनुरोध गर्नेछौं ।'

पाकिस्तानले भारत विरुद्ध आत्मरक्षाको लागि भारतीय सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ - 'पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्नेछ ।'

यद्यपि भारतीय विदेश मन्त्रालयले मंगलबार सिन्धु जल सन्धि 'पाकिस्तानले आतंकवादलाई पूर्ण रूपमा समर्थन गर्न बन्द नगरेसम्म' निलम्बन रहने दोहोराएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पाकिस्तान युद्धविराम र यस क्षेत्रमा तनाव कम गर्न प्रतिबद्ध छ। धेरै मित्र राष्ट्रहरूको प्रयासबाट युद्धविराम सम्भव भएको हो। युद्धविरामको चाहनालाई पाकिस्तानसँग जोड्नु झूट हो ।'