३१ बैशाख, काठमाडौं । अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर (एक नील ९३ खर्ब रुपैयाँ) बराबरको हतियार किनबेच सम्झौता भएको छ ।
अमेरिकाले यस सम्झौतालाई इतिहासकै सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता भनेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जारी गरेको फ्याक्ट सीटमार्फत पछिल्लो सम्झौताबारे जानकारी दिइएको हो । हतियार दिएबापत साउदी अरबले अमेरिकामा ६०० अर्ब डलर (आठ नील १६ अर्ब रुपैयाँ) बराबर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
साउदी अरबलाई हतियार बिक्री सम्झौताबारे ह्वाइटहाउसले भनेको छ, ‘अमेरिका र साउदी अरबले इतिहासकै सबैभन्दा ठूलो, लगभग १४२ अर्ब डलर बराबरको रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरेका छन्, यो सम्झौतामार्फत साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी कम्पनीमा तयार अत्याधुनिक युद्ध उपकरण र सेवा प्राप्त गर्नेछ।’
हतियार बिक्री सम्झौताकै लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका थिए । त्यहाँ उनले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेट गरेका थिए । हतियार सम्झौता दुई देशबीच ८० वर्षे साझेदारीको प्रतीक भएको ट्रम्पको भनाइ थियो । ट्रम्प यतिखेर साउदी अरब, कतार र यूएईमा चार दिवसीय भ्रमणमा निस्किएका छन् ।