|  

उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको निधन

३१ बैशाख, काठमाडौं ।  विश्वकै गरिब राष्ट्रपतिको उपनाम पाएका उरुग्वेको पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ ।

८९ वर्षको उमेरमा उनको निधन भएको नेशलन पब्लिक रोडियो अनलाइनले जनाएको छ । एक पूर्वमाक्र्सवादी गुरिल्ला लडाकु मुहिका जसले हातहतियार छोडेर उरुग्वेको राष्ट्रपति निर्वाचित भई राष्ट्रिय मेलमिलापको प्रतीक बनेका थिए । उनको सरल जीवनशैलीले उनलाई विश्वकै गरिब राष्ट्रपतिको उपनाम दिलाएको थियो । 

उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधन भएको बताए ।मुहिकाले गत जनवरीमा आफूलाई घाँटी (इसोफेगस)क्यान्सर भएको र त्यो क्यान्सर कलेजोमा फैलिएको बताउँदै थप उपचार नगर्ने बताएका थिए ।

मुहिका सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति थिए । उनी यो शताब्दीको सुरुआतमा अर्जेन्टिना, ब्राजिल, चिलीलगायत ल्याटिन अमेरिकाका अन्य देशहरूमा गुलाबी लहर भनेर चिनिने सत्तामा पुगेका बामपन्थी नेताहरूको लहरका प्रमुख व्यक्तित्वमध्ये एक थिए ।आफ्नो कार्यकालमा उनले तीस लाखभन्दा बढी जनसंख्या भएको सानो दक्षिण अमेरिकी मुलुक उरुग्वेमा कुनै भ्रष्टाचार स्क्यान्डलमा नमुछिकन आर्थिक वृद्धिलाई नेतृत्व गरेका थिए ।

वैदेशिक लगानीमा वृद्धि गराउँदै र गरिबी न्यूनीकरण गर्न सफल भएका थिए । उनका प्रगतिशील नीतिहरूमा गर्भपतन, गाँजा र समलैंगिक विवाहलाई वैधता दिने तथा अफगानिस्तानका युद्ध शरणार्थीहरूलाई पुनःस्थापित गर्ने कार्यक्रमहरू समावेश थिए ।