|  

मोरङमा बिहेघरमा गाडेको बाँसले हाइटेन्सन लाइन छुँदा दुई महिलाको मृत्यु 

३१ बैशाख, काठमाडौं । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ ।

वैशाख ३० गते राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो । स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो जसमध्ये दुई जनाको मृत्यु भएको हो । स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।

बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो । गएराति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
राधाकुमारी सिंह भने नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्किएकी छन् ।