|  

सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी नेताहरुलाई सांसद मगरको आग्रह

३१ बैशाख, काठमाडाैं । नेकपा एमाले सांसद रणकुमारी बलम्पाकी मगरले सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी दलहरुसँग आग्रह गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेण्ट हो भन्नेकुरा नबिर्सिन आग्रह गरे । उनले सत्ता पक्षमा हुँदा भ्रष्टाचार र विचौलिया, अपारदर्शी, अनियमितताका कुरामा चुइँक्क नबोल्ने र विपक्षीमा पुगेपछि जति सकिन्छ, झुटो लाञ्छना र उपमा दिनुका साथै सरकारकै कार्यशैलीकै कारण गणतान्त्रिक व्यवस्था नै खतरामा छ भन्ने गलत र हलुका टिप्पणीहरु गरेको भन्दै आपत्ति जनाए ।

उनले भने,‘विगत २८ महिनादेखि म लगायत हामी कहिले सत्ता पक्ष, कहिले विपक्षमा रहेर जन सरोकारका सवालहरु उठाउँदै आएका छाैँ । मलाई के अचम्म लाग्छ भने सत्ता पक्ष हुँदा भ्रष्टाचार र विचौलिया, अपारदर्शी, अनियमितताका कुरामा चुइँक्क नबोल्ने माननीयहरु विपक्षी बेन्चमा पुग्ने बित्तिकै सरकारलाई जति सकिन्छ, झुटो लाञ्छना र उपमा दिनुका साथै सरकारकै कार्यशैलीकै कारण गणतान्त्रिक व्यवस्था नै खतरामा छ भन्ने गलत र हलुका टिप्पणीहरु गर्नुहुन्छ, यो कति सान्दर्भिक हो ? प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेण्ट हो भन्नेकुरा किन बिर्सिएको ? सस्तो प्रचार र मिडियामा खपतका लागि अभिव्यक्ति नदिए हुन्थ्यो ।’

सांसद मगरले संसद र संसदीय समितिलाई आरोप र प्रत्यारोपको दोहोरी खेल्ने ठाउँ नबनाउन आग्रह गरे ।